शुक्रबार, वैशाख २१, २०८१

अन्तरराष्ट्रिय फिल्म फेस्टिबल’ मा ‘गोरु पर्व’ छनोट

नेपालखोज २०८० असोज २९ गते १४:०८

काठमाडौं । नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ ।

बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।

योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन् । सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल छन् ।

राजेन्द्र बजगाईँको पाश्र्व सङ्गीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तरराष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ ।

जात्रा माघेसङ्क्रान्तिकै दिन आयोजना हुने र त्यससँग विभिन्न संस्कृति जोडिएकाले यसलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रबन्ध निर्देशक केपी पाठकले जानकारी दिए ।

‘गोरु जुधाउने जात्रा हाम्रो मौलिक संस्कृति हो । यसलाई अन्तरराष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिको अन्तरराष्ट्रियस्तरमा प्रचार गर्न सकेमा देशलाई चिनाउन सक्छौँ’, लेखक तथा निर्देशक लम्सालले भने ।

प्रतिक्रिया