बिहीबार, वैशाख २०, २०८१

ओटिटीमा जारी चलचित्र

नेपालखोज २०८० असोज ३० गते १४:३५

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले भने सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप ‘सिनेमा घर’ले भने पछिल्लो समय दर्शक पाइरहेको त्यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । दर्शकको अपेक्षा बुझेर सब्सक्रिप्सनको सुविधा हटाइ चलचित्रअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाइएपछि एप निर्माताका लागि नयाँ आम्दानीको स्रोतसमेत बनेको छ ।

‘पहिला चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र युट्युबमा राखिन्थ्यो । यद्यपि अहिले एपकै माध्यमले आम्दानी निर्माताले गरिरहेका छन् । पछिल्लो समय नयाँ चलचित्रले राम्रै मुनाफा दिइरहेको छ’, अध्यक्ष लामिछानेले भने, ‘यसले आगामी दिनमा निर्मातालाई झनै लाभान्वित गराउनाका साथै नयाँ मेकर्सलाई दर्शकसम्म पुग्ने अवसर सिर्जना गरेको छ ।’

उनले एपमा प्रदर्शन सुरू गरिएको जारी चलचित्रले सहजै दर्शक पाइरहेको जानकारी दिए । चलचित्र भवनमा रुचाइएको चलचित्रलाई एपमा पनि दर्शकको उस्तै साथ मिल्ने गरेको छ । ‘जारीले नयाँ दर्शकलाई समेत एपमा ल्याएको देखिएको छ ।

यसवर्ष हामीले कबड्डी–४, महापुरुषजस्ता चलचित्रमार्फत नयाँ दर्शकसम्म पुग्ने अवसर पायौँ । आउँदो समयमा ओटिटीले धेरै दर्शकसम्म नेपाली चलचित्र पुर्याउछ’, अध्यक्ष लामिछानेले भने । उपेन्द्र सुब्बाले निर्देशन गरेका चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अङ्कित खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया