आइतबार, जेठ ६, २०८१

हत्यारा ‘आतङ्कवादी’लाई प्रहरीले गोली हानी मार्यो

नेपालखोज २०८० असोज ३० गते १६:१४

ब्रसेल्स । दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गरेका छन् ।

मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ऊमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण उसको मृत्यु भएको बताइएको छ ।

‘ब्रसेल्सको आतङ्कवादी हमलाको अपराधी पहिचान भयो र उसको मृत्यु भयो’, आन्तरिक मामिलामन्त्री एन्नेलिस भर्लिन्डेनले सामाजिक सञ्जालमा भने, ‘गत राति र आज बिहान द्रुत र निर्णायक काम गरेकामा हामी जासुसी र सुरक्षा सेवाका साथै सरकारी वकिलहरूलाई धन्यवाद दिन्छौँ ।’

यसअघि प्रधानमन्त्री अलेक्जेन्डर डि क्रुले संदिग्ध हत्यारा ट्युनिसियाली मूलको रहेको र ऊ गैरकानूनीरूपमा बेल्जियममा बस्दै आएको बताएका थिए । दुई स्विडिस नागरिकको हत्या गरेपछि बन्दुकधारीले सामाजिक सञ्जालमार्फत आफू इस्लामिक स्टेट चरमपन्थी समूहबाट प्रेरित भएको बताएका थिए ।

‘हिजो भएको आतङ्कवादी हमला कायरतापूर्ण थियो, आतङ्ककारीले दुई स्विडिस फुटबल प्रशंसकलाई निशाना बनाएको थियो’, तेस्रो व्यक्ति ट्याक्सी चालक गम्भीर घाइते भएको जानकारी दिँदै प्रधानमन्त्री क्रुले पत्रकार सम्मेलनमा भने ।

आतङ्कवादले अन्धाधुन्ध आक्रमण गर्छ’, उनले भने, ‘आतङ्कवादको उद्देश्य हाम्रो समजमा डर, अविश्वास र विभाजन उत्पन्न गर्नु हो, आतङ्कवादीलाई थाहा हुनुपर्छ उनीहरूले कहिल्यै आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन्, उनीहरूले हामीलाई कहिल्यै झुकाउन सक्दैनन्, तिनीहरूको घृणा र हिंसाले उनीहरूको शक्तिहीनता मात्र प्रमाणित गर्दछ ।’

प्रतिक्रिया