सोमबार, वैशाख २४, २०८१

नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा

नेपालखोज २०८० कार्तिक १२ गते ८:४६

टीकापुर (कैलाली) । बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् ।

कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ । उनी बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउछन् ।

विद्यालयमा हुने बाल क्लब, कक्षा ‘मोनिटर’जस्ता कार्यमा पनि पछिल्लो समय बालिका अग्रसर हुँदैछन् । खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल विद्यालयले बालिकाको नेतृत्व विकासलाई प्राथमिकता दिएको, सामुदायिक विद्यालयमा बालिका बढी अध्ययनरत भएकाले बालिकाले पढाइको नतिजामा पनि नेतृत्व गरिरहेको बताउछन् ।

सामुदायिक विद्यालयमा अध्ययन गर्नेमा पनि छात्राका धेरै छन् । विद्यालयले पनि छात्रालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रयास गरिरहेको देखिन्छ । हिमालय मावि घीया पुछरीका प्रधानाध्यापक बुद्धिराम चौधरी पनि छात्रा बढी अग्रसर हुँदै गरेका बताउछन्।

नेपाल शिक्षक महासङ्घ टीकापुरका सभापति रघुनाथ उपाध्याय पनि विद्यालयमा नेतृत्व गर्ने हरेक भूमिकामा छात्रालाई प्राथमिकता दिने र छात्राहरू छोराभन्दा अब्बल बन्दै गएका अनुभव आफूले गरेका बताउछन् ।

छोराको तुलनामा छोरी बढी संवेदनशील हुन्छन् । अझ छोरीलाई घर तथा भान्साको काम, भाइबहिनी स्याहारजस्ता कार्यको बोझ पनि थुपारिन्छ । सामाजिक परिवेशले छोरालाई जति अगाडि बढ्न सहज वातावरण छोरीका लागि छैन । छोरी पनि समाज, राष्ट्रका नेतृत्वकर्ता हुन् भन्ने अभिभावक तथा समाजले सोच्न र त्यही खालको वातावरण बनाउन आवश्यक छ ।

प्रतिक्रिया