मंगलबार, वैशाख १८, २०८१

बोलिभियाले इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्यो

नेपालखोज २०८० कार्तिक १५ गते १६:३८

ला पाज । दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको मङ्गलबार बताएको छ ।

‘बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजराइली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ’, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भने ।

राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गरिन् । ‘हामी गाजापट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्’, सोही पत्रकार सम्मेलनमा उनले भने ।

अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी सङ्घर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजराइलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ । हमासले गरेको हमलामा एक हजार चार सयभन्दा बढी मानिस मारिएको इजराइली अधिकारीहरूले बताएका छन् ।

इजराइलले बुधबार बोलिभियाको कदमलाई ‘आतङ्कवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ । ‘यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतङ्कवादी सङ्गठनसँग जोडिरहेको छ’, इजराइली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भने ।

बोलिभियाले गाजापट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजराइलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया