मंगलबार, वैशाख १८, २०८१

भोजन अभावमा जापानमा भालुको आक्रमणमा रेकर्ड वृद्धि

नेपालखोज २०८० कार्तिक १६ गते १५:३८

टोक्यो । अप्रिलदेखि अक्टोबरको बीचमा जापानमा भालुको आक्रमणमा परेका मानिसको सङ्ख्या एक सय ८० पुगेको पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त सङ्ख्या आर्थिक वर्षका आधारमा सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २००६ देखि तथ्याङ्क राख्न सुरु गरिएयता अहिलेसम्म यो सबैभन्दा खराब सङ्ख्या भएको मन्त्रालयले बुधबार प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२० मा पछिल्लो उच्च रेकर्ड एक सय ५८ थियो ।

अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२३ मा अहिलेसम्म भालुहरूको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । अगस्टमा १५ जनामाथि भालुले आक्रमण गरेको थियो भने यो सङ्ख्या सेप्टेम्बरमा ३८ र अक्टोबरमा ७१ पुगेको थियो ।

उत्तरपूर्वी जापानको ताहोकू क्षेत्रमा कूल जनसङ्ख्याले करिब ७० प्रतिशत भाग ओगटेको छ । विशेषज्ञहरूका अनुसार पहाडहरूमा सुक्खा फलफूल (बदाम, ओखर आदि) को उत्पादन कम भएकाले पर्याप्त भोजन नपाउँदा यो वर्ष भालुहरू मानव बस्तीका वरपर धेरै पटक देखिएका थिए ।

मन्त्रालयले डिसेम्बरमा भालुहरू शीतनिद्रामा नगएसम्म अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । ‘बेपत्ता मानिसहरूको खोजीमा उद्धारकर्मीहरूले रातभर काम गरिरहेका थिए र आज बिहान पुनः सुरु भएको छ’, एक प्रहरी अधिकारीले भने ।

प्रतिक्रिया