सोमबार, वैशाख ३१, २०८१

नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेपालखोज २०८० कार्तिक १६ गते १५:५७

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलब ७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैंक छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल दुई करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु दुई करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलब शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलब ९६, सोल्टी होटल चार दशमलब ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलब ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलब ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलब ९१, सामलिङ पावर चार दशमलब ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब ७३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया