मंगलबार, जेठ ८, २०८१

एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

नेपालखोज २०८० कार्तिक १६ गते १७:२७

इस्लामाबाद । इस्लामाबादले १७ लाख अफगानीलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगानी पाकिस्तानबाट भागेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नोभेम्बर १ को समयसीमा नजिक आउनासाथ प्रहरीले अफगानीहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस सीमामा पुगेका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको तोर्खममा पाकिस्तानको सबैभन्दा व्यस्त सीमाविन्दुमा अधिकारीहरूले सात किलोमिटरसम्म फैलिएको २८ हजार मानिसको लाइनलाई हटाउन बिहीबार बिहानै काम गरेका थिए ।

त्यसपछि सीमामा यातायात सहज भएको छ । प्रहरीले खोजी अभियान सुरु गरेका कारण अधिकारीहरूले कागजातविहीन अफगानहरूलाई स्वेच्छाले जान प्रोत्साहन गरेका छन् ।

खैबर पख्तुनख्वा प्रान्तबाट एक लाख २९ हजार मानिस भागेको प्रान्तीय गृह विभागले जनाएको छ । त्यहाँको सीमा अधिकारीहरूले ३८ हजार एक सय मानिस बलुचिस्तानको चमन हुँदै आएको बताएका छन् ।

हालैका दशकमा हिंसात्मक सङ्घर्षका क्रममा भागेर लाखौँ अफगानीहरू पाकिस्तान आएका छन् । तीमध्ये सन् २०२१ अगस्टमा तालिबान सरकारले सत्ता कब्जामा लिएर कठोर इस्लामी कानून लागू गरेपछि करिब छ लाख मानिस रहेका छन् ।

प्रतिक्रिया