सोमबार, वैशाख २४, २०८१

कुवेतसँग पराजित भएपनि बहराइन सेमिफाइनमा प्रवेश

नेपालखोज २०८० कार्तिक १६ गते १९:४३

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी त्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई चार विकेटले पराजित गरेता पनि नेटरनरेटका आधारमा बहराइन सेमिफाइनमा पुगेको हो ।

समान अङ्क भए पनि हङ्कङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स (यूएई) छ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गर्यो । बहराइन, हङ्कङ र कुवेतको समान दुई अङ्क थियो । तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङ्कङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रहेको कारण बहराइन सेमिफाइनलमा पुग्न सफल भयो ।

सेमिफाइनलमा बहराइनले ओमानसँग खेल्नेछ । आजको खेलमा बहराइनले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य कुवेतले १६ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतका लागि उस्मान पटेलले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोहम्मद अस्लामले अविजित ३६, डिजुर शिलीले २२ तथा बिलाल ताहिर र सायद मुनिबले समान १५–१५ रन जोडे । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान दुई–दुई विकेट लिए भने अब्दुल माजिदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५८ रनको योगफल तयार पारेको थियो । बहराइनका लागि इम्रान अनवरले सवाधिक ३७ रनको योगदान दिए । त्यस्तै इम्रान अली र कप्ताम उमर टुरले समान २२–२२, हैदर बटले १८, सोहिद अहमले १५ तथा जुनैद अजिज र साथैया वीरपाथिरानले समान ११–११ रन बनाए । दुवै सेमिफाइनल खेल भोलि बिहान ११ः०० बजे सुरु हुनेछ ।

मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । दुवै सेमिफाइन खेलका विजेता टोलीले आगामी सन् २०२४ मा हुने विश्वकप क्रिकेट खेल्न पाउनेछन् । रासस

प्रतिक्रिया