मंगलबार, जेठ ८, २०८१

गाजामा इजराइलको अनिश्चितकालसम्म ‘समग्र सुरक्षा’ भूमिका रहनेछ : नेतान्याहु

नेपालखोज २०८० कार्तिक २१ गते १९:१०

इजराइल । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजराइलको ‘समग्र सुरक्षा जिम्मेबारी’ रहने बताएका छन् । करिब २३ लाख प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा इजराइलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा स्पष्ट सङ्केत हो ।

सोमबार राति प्रसारित एबिसी न्युजसँगको अन्तरवार्तामा उनले अक्टोबर ७ मा इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका दुई सय ४० भन्दा धेरै बन्धकमध्ये केहीलाई रिहा गर्न युद्धमा ‘थोरै विराम’ गर्ने विषयमा खुला रहेको बताए । तर उनले सबै बन्धक नभएसम्म कुनै पनि सामान्य युद्धविरामलाई अस्वीकार गरे ।

सोमबार नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्तापछि व्यापक मानवीय विरामका लागि बाइडेनको आह्वानसँग कुनै सम्झौता नभएको ह्वाइट हाउसले बताएको छ । इजराइली सेना एक साताभन्दा लामो समयदेखि गाजाभित्र प्यालेस्टिनी लडाकूहरूसँग लडिरहेको छ ।

सेना आधा क्षेत्रमा घुसेर गाजा सहरलाई घेरेर बस्न सफल भएको छ । युद्धको ठूलो मूल्य चुकाउनुपरेको छ । हवाई हमलामा पूरा सहरका ब्लकहरूलाई नष्ट बनाएको छ र करिब ७० प्रतिशत मानिस आफ्नो घर छाडेर भागेका छन् । थुप्रै सर्वसाधारण इजराइली आदेशको पालना गर्दै गाजाको दक्षिणी क्षेत्रतर्फ गएका छन् ।

गाजामा खाद्यान्न, औषधि, इन्धन र पानीको कमी भइरहेको छ र संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित स्कुल–आश्रयस्थल सर्वसाधारणले भरिएका छन् । हमासले सञ्चालन गरेको गाजापट्टीको स्वास्थ्य मन्त्रालयले चार हजार एक सयभन्दा बढी बालबालिकासहित १० हजारभन्दा बढी प्यालेस्टिनी मारिएको सोमबार बताएको छ । त्यस्तै दुई हजार तीन सयभन्दा बढी सर्वसाधारण बेपत्ता भएका छन र उनीहरू क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा पुरिएको हुनसक्ने मन्त्रालयले बताएको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजराइलमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार चार सयको ज्यान गएको छ । त्यसपछि युद्ध सुरु भएको हो । इजराइलले हमासलाई सत्ताबाट हटाउने र उसको सैन्य क्षमतालाई जरैदेखि उखेल्ने वाचा गरेको छ । इजराइलले युद्ध सुरु हुनुभन्दा पहिला छ लाख ५० हजार मानिसको घर भएको गाजा सहरमा ध्यान केन्द्रित गरिरहेको छ । हमाससँग सहरमा एउटा विशाल सुरुङ सञ्जालसहित व्यापक मात्रामा आतङ्कवादी पूर्वाधार संरचना रहेको इजराइलले बताएको छ ।

हमासले उक्त सुरुङमा सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेको इजराइलको आरोप छ । हमासको बाटोमा जान नचाहने मानिसहरूले गाजामा शासन गर्नुपर्ने नेतान्याहुले एबिसी न्युजलाई बताए ।

प्रतिक्रिया