शुक्रबार, वैशाख २१, २०८१

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

नेपालखोज २०८० कार्तिक २४ गते १२:५१

भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।’ उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ ।

उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उनले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए। ‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ’, उनले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’

तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट १५ लाख आम्दानी हुने अमितले बताए। बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उनले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

भारतको कलकत्तादेखि एक लाख बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौंबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।

‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, उनले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’

फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए ।

चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । ‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो’, उनले भने, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौ ।’

नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए । ‘गत आर्थिक वर्षदेखि फूलखेती प्रवद्र्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ’, उनले भने। अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए ।

चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन् ।

प्रतिक्रिया