बिहीबार, वैशाख २०, २०८१

४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ

नेपालखोज २०८० कार्तिक २४ गते १७:००

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

होटल संचालकसहित सात जना जुवा खेल्दा खेल्दै पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका संचालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले संचालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२ किलो ९ सय ३० ग्राम गाँजा बरामद
तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय ३० ग्राम बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले पोखरातर्फ जादै गरेको ग.२ ख १५२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा सिटमाथि रहेको झोलामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले सोधपुछको लागि बसका सहचालकलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चार नाल भरूवा बन्दुक बरामद
रूकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मास्थित रानी सामुदायिक वनको ओढारमा लुकाई राखेको ४ नाल भरूवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रन्मामैकोटबाट गस्ती खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया