आइतबार, जेठ ६, २०८१

वीरगञ्ज गोल्डकप : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

नेपालखोज २०८० कार्तिक २५ गते १४:१६

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ ।

सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई तथा पुलिसले आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन् ।

आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबका अध्यक्ष सुबिन बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ तथा उपविजेताले पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् ।

प्रतिक्रिया