शुक्रबार, जेठ ४, २०८१

चुरे फेदीका सामुदायिक वनमा मानव प्रवेश निषेध

नेपालखोज २०८० कार्तिक २६ गते १०:५६

कञ्चनपुर । जङ्गली हात्तीको आवागमन बढेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो ।

जङ्गली हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आएकाले वन क्षेत्र प्रवेशमा निषेध गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए ।

प्रजननका बेला मत्तहात्ती आक्रामक हुने भएकाले आक्रमण गर्ने सम्भावना हुने भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । हात्ती हिँडने बाटामा सिसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको उनले बताए ।

दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुनःस्थापन गरिनुपर्ने उनको भनाइ छ । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया