शुक्रबार, जेठ ४, २०८१

बागलुङमा बढ्यो भोटे कुकुरको माग

नेपालखोज २०८० कार्तिक २६ गते १२:४२

ढोरपाटन (बागलुङ) । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।

केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन् । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको छ ।

निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर बिक्री हुने गरेको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडौं, बागलुङ, धरानलगायत मुख्य सहरमा यहाँबाट कुकुर लैजाने गरेको पाइन्छ । ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका–९ पाखाथरका ज्ञानबहादुर विकले बताए । कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई-तीन महिना नहुँदै किनेर लैजाने गरेको उनको भनाइ थियो ।

ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ । पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको उल्लेख गर्दै स्थानीयवासी विकले एउटै माउ भोटे कुकुरका लागि ५५ हजारदेखि ६० हजारसम्म पर्ने गरेको र तीनका बच्चा दस हजारसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । बजारका कुकुरले भन्दा भोटे कुकुरले जङ्गलीजन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यसवर्ष आफूले चार वटा बच्चा बेचेको उनको भनाइ थियो ।

निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आवद्ध छन् । उनीहरु लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन् । गोठको छेउमै बाँधिएका कुकुरले पशुचौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले बताए ।

कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत पचासवर्षदेखि अहिलेसम्म करिब दस वटा कुकुर पालिसकेको उहाँले सुनाउनुभयो । पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ थियो।

प्रतिक्रिया