शुक्रबार, जेठ ४, २०८१

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

नेपालखोज २०८० कार्तिक २८ गते ८:३३

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा  प्रबर्द्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । 

अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान गर्दै आएको छ । अनुसन्धानले खरी र साननमा क्रस गरी उत्पादित वर्णशंकर जातका बाख्राले बढी उत्पादन र उत्पादकत्व दिएको अनुसन्धान केन्द्रका संयोजक राजु कंडेलले जानकारी दिए ।  

सानन वर्णशंकर बाख्राले दूध र मासु उत्पादन वृिद्ध भएको अध्ययन अनुसन्धानले देखाएको उनको भनाइ छ । शुद्ध सानन बाख्राले दैनिक चार लिटर दूध उत्पादन गर्ने र खरी वर्णशंकर बाख्राले दैनिक दुई लिटर दूध दिँदै आएको केन्द्रको भनाइ छ । 

अनुसन्धान केन्द्रले प्राथामिकताका आधारमा बाख्रा सम्बन्धी मार्गचित्र तयार गरी अनुसन्धान, प्राविधिक विकास र प्रबर्द्धन गर्दै आएको छ । रैथाने स्थानीय र लोपोन्मुख बाख्राका जातहरुको संरक्षण, सम्बद्र्धन र प्रयोग गर्दै आइएको केन्द्रका संयोजक कंडेलले बताए ।  

त्यस्तै बाख्रा सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक प्राविधिक सहयोग गर्ने र उन्नत नश्लका बाख्राहरुको उत्पादन गरी देशभरका अगुवा किसानहरुलाई वितरण गर्दै आएको उनको भनाइ छ । उनले भने, ‘अनुसन्धान केन्द्रले व्यावसायिक बाख्रापालक अगुवा किसानहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम समेत सञ्चालन गरिरहेको छ ।’

बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित भएका बीउ बोका ५० प्रतिशत वर्णशंकर बीउ बाख्राको जिउँदो तौल प्रति केजी ८०० रुपैयाँ र ७५ प्रतिशत वर्णशंकर बीउ बाख्राको जिउँदो तौल प्रति केजी एक हजारमा किसानलाई बिक्री गर्दै आएको छ । बीउ पाठापाठी किसानको माग अनुसार अनुसन्धान केन्द्रले उत्पादन गर्न नसकेको बताइएको छ । 

बाख्राको अनुसन्धानको लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । 

केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसहरुमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ । ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ । 

देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसद लगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् । रासस

प्रतिक्रिया