शुक्रबार, मंसिर २२, २०८०

तराईमा मनाइने छठ पर्व

सुनिल उलक २०८० मंसिर ३ गते ९:०८

छठ पर्व वास्तवमा षष्ठी पर्वबाट अप्रभंश भइ बनेको हो । षष्ठी तिथिमा मनाइने हुँदा छठी पर्व हुँदै छठ पर्व हुन पुग्यो । बिशेष गरि यो पर्व भारतको उत्तर प्रदेशबाट शुरु भएको मानिन्छ । बिहार र बिहारसंग जोडिएको नेपालको तराइमा मनाउने गरिन्थ्यो । तर अहिले तराइवासीहरु पुगेको अधिकांश ठाउँमा पनि मनाउन थालिसकेको छ ।

हिन्दू आख्यानहरुका अनुसार यो पर्व षष्ठी देवीको पूजा हो । षष्ठी देवीको साथ सूर्यलाई पनि पूजा गरिन्छ । हिन्दू पुराणहरुका अनुसार सूर्य र षष्ठी दाजुबहिनी हुन । तिहारको पाँच दिन यमपंचक मनाइए पछि भाइ टीका अर्थात भैया दूज पछि एकदिन खालि भइ चतुर्थी तिथि देखि चार दिन बिशेष गरेर छठ पर्व मनाउने गरिन्छ । यसरी नेपालको तराइमा तथा भारतको बिहार र उत्तर प्रदेशमा तिहार पनि करिव करिव १० दिन लामो हुने गर्दछ । अचेल नेपाल सरकारले पनि छठ पर्वको पनि छुट्टी दिन थालेको छ ।

हिन्दू आख्यानहरुमा जे जस्तो कथा गाँसिए पनि यो पर्व प्रकृति पूजा हो । यसको शुरुवात गुप्तकालमा नै भएको मान्यता छ । इस्वी सम्वत ११३० मा लेखिएको एक पुस्तकमा यस पर्वको बारेमा बिस्तृत लेखिएको भेटिएको छ । जसलाई प्रामाणिक इतिहास मानिने हो भने यसको शुरुवात बाह्रौ शताव्दीमा भएको मान्नुपर्दछ ।

त्यसबेलाको गहडवाल राज्यमा यस षष्ठी पर्व मनाउन थालिएको मान्यता छ । गहडवालको राजधानी काशी थियो भने यो राज्य अहिलेको उत्तर प्रदेशको पूर्वी भाग तथा बिहारको पश्चिम भागमा पर्दथ्यो । अधिकांश गंगा नदी किनारमा तथा केही अन्य गंगाका सहायक नदीका किनारमा यो पर्व मनाइने गरिन्थ्यो ।

तत्कालिन समयमा षष्ठी माताको पूजा सन्तान प्राप्तिका लागि बिशेष रुपले गर्ने गर्दथे । यसरी प्राप्त भएको सन्तानको नाम षष्ठीदत्त राखिने गरिन्थ्यो । यसरी षष्ठी माताको रुपमा ब्रत बस्ने तथा पूजा गर्ने गरिएको प्रमाणहरु भेटिएका छन् । अहिले पनि छठको पूजा गर्नेहरु अधिकांश गंगा नदी र यसका सहायक नदी वरपर रहनेहरु नै भेटिन्छन् । अन्य नदीहरुमा भने यस क्षेत्रका मानिसहरुको स्थानान्तरण भइ बसोबास रहेका ठाउँहरुमा भेटिन्छ । पोखरामा पनि पहिले पहिले छठ पूजा भएको थाहा थिएन तर अचेल सेती किनारमा छठ घाट बनाएर तराइवासीहरुले पूजा गरेको देख्न सकिन्छ ।

कसरी गरिन्छ पूजा वा कसरी बसिन्छ ब्रत

छठ ब्रतलाई कठिन ब्रतका रुपमा पनि लिइन्छ । वर्षमा दुइ पटक मनाउने गरिए पनि चैतको छठको भन्दा बढि कार्तिकको छठलाई बढि महत्व दिइन्छ । खासगरी महिलाहरुले यो ब्रत बस्ने भए पनि पुरुषहरु पनि यो ब्रत बसेको भेटिन्छ ।

पहिलो दिन नहाये खाये
कार्तिक शुक्ल चतुर्थीको दिन बिहानै घर सफा गरेर नुहाइधुवाइ गरेपछि छठ पर्वको शुरुवात हुने गर्दछ । ब्रत बस्ने महिला वा पुरुषले पहिलो दिन केवल एक छाक त्यो पनि शुद्ध शाकाहारी भोजन गरेर बस्दछन् ।

दोश्रो दिन खरना

दोश्रो दिन पंचमीको दिन बर्तालुले पुरै दिन उपवास बस्दछन् । साँझ सूर्य अस्त भएपछि बल्ल खीर खाने गरिन्छ । तर खीरमा चीनी प्रयोग नगरेर सक्खर तथा उखुको रस प्रयोग गरिन्छ । यस दिन साँझ सूर्यलाई खीर चढाए पछि बर्तालु एकान्तवास बस्ने गर्दछन् । बर्तालु आवाज सुन्न वा बोल्न नहुने भनेर घरका सदस्य समेत चुपचाप बस्ने वा अन्त बस्न जाने गर्दछन् । मध्य रातमा छठ पूजाको प्रमुख प्रसादका रुपमा ठेकुवा (एक प्रकारको कुकिज) बनाउने गरिन्छ । दोश्रो दिनको पूजालाई ‘खरना’ भन्ने गरिन्छ ।

तेश्रो दिन सँझिया अरघअघिल्लो दिन बसेको उपवास भोलिपल्ट अर्थात छठको तेश्रो दिन पनि निरन्तर रहन्छ । यसरी करिव ३६ घण्टा लामो उपवास हुने गर्दछ । तेश्रो दिनको साँझ अस्ताउँदो सूर्यलाई अर्ध्य दिने प्रक्रिया हुन्छ । यसको लागि नदी किनारमा छठ घाट सरकारका तर्फबाट वा सामाजिक कार्यकर्ताहरुको अगुवाइमा तैयार बनाइएको हुन्छ । जसमा हरेक बर्तालु बसेर पूजा गर्ने तथा सूर्यलाई अर्ध्य दिने गरिन्छ ।

पूजाका लागि बाँसको टोकरीमा सामग्रीहरु राखेर घरको पुरुष सदस्यले बोकेर छठ घाटमा लैजाने गरिन्छ । टोकरीमा फलफूलहरु नरिवल, स्याउ, केरा, सुन्तला आदि फलफूलका साथ गहुको पिठोबाट बनेको ठेकुआ तथा चामलको पिठोबाट बनेको भुसुवा पनि बाँसको टोकरीमा लिएर जानुपर्दछ । साथमा बेसार, अदुवा, मुला, उखु धागो पनि लिएर जाने गरिन्छ ।

छठ घाटमा केराको बोट तथा उखु गाडेर आफ्नो स्थान सजाएका हुन्छन् । यसको साथ साथै माटोबाट बनेका हात्ती पनि सजाएर राख्दछन् । माटोको दीयोमा बत्ती बालेर पूजा आरम्भ गरिन्छ । अचेल सम्पन्नहरुले केराको सिंगै घारी नै सजाएको पनि देखिन्छ । यसरी सामग्रीहरु जुटाएपछि साँझ सूर्य डुब्ने बेलामा पूजाको अनुष्ठान शुरु हुन्छ । अन्तमा पानीमा आधा डुबेर अस्ताउँदो सूर्यलाई अर्ध्य दिएर पूजा समाप्त गरिन्छ ।

कतिपय स्थानमा तराइका मधेशी समुदायको साथसाथै गैर मधेशी, पहाडी समुदाय, दलित तथा मुस्लिम समुदायकाहरुले पनि यो पर्व साथसाथै मनाउने गरेको पाइन्छ । उषा अर्ध्य चौथो दिन बिहानै सूर्यको उदय समयमा अर्ध्य दिए पछि बल्ल छठ पर्व समाप्त हुन्छ ।

प्रतिक्रिया