आइतबार, मंसिर १७, २०८०

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

नेपालखोज २०८० मंसिर ३ गते १४:४९

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका–१ खहरेस्थित सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु.१ ह ३६८ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रूपन्देही तिलोत्तमा नगरपालिका–१० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको लहान नगरपालिका–२३ बथनाहास्थित सडकमा प्रदेश २–०३–००१ त ७५४२ नम्बरको ट्याक्टरले प्र.२–०१–००२प ८००१ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार अर्नमा गाउँपालिका–१ बस्ने २६ वर्षीय रोशन राय र उदयपुर त्रियुगा नगरपालिका–६ लालपत्ता बस्ने २६ वर्षीय सागर भुजेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रोशन रायको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो भने सागर भुजेललाई थप उपचारको लागि बिराटनगर नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटना पश्चात फरार रहेको ट्याक्टरको खोजी गर्ने क्रममा सखुवानन्कारकट्टी गाउँपालिका–३ महदेवा स्थितमा सवारी धनी सोही ठाउँ बस्ने ४५ वर्षीय राजलाल यादवको घरमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर धनी र चालक समेतको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको पचरौता नगरपालिका–८ बाजेपट्टीस्थित सडकमा हर्नैयाबाट कलैयातर्फ जाँदै गरेको ना.४६ प ६९७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया अनिला देवी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरस्थित सडकमा मटिअर्वाबाट जोतपुरतर्फ जाँदै गरेको बिआर ०५ एडि६८०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय गोविन्द केसरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाको बिदेह नगरपालिका–७ जोगीहारामा ज.१२ प ५३०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक बिदेह नगरपालिका–७ बस्ने ३० वर्षीय प्रमोद कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको कमल गाउँपालिका–३ कमल पुलस्थित सडकमा प्रदेश १–०१०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण बहादुर गिरीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया