सोमबार, जेठ ७, २०८१

र्‍यापरको एक वर्षे जेल यात्रा

नेपालखोज २०८० मंसिर ४ गते १२:३९

इरानमा हिजाबको नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको क्रममा समातिएका लोकप्रिय र्‍यापर तुमाज सालेही जमानतमा रिहा भएका छन्।

महिला अधिकार तथा हिजाबको बिरोधमा र्‍यापर तुमाज सालेहीले एउटा र्‍याप गीत बनाएका थिए। त्यस र्‍यापकै कारण आन्दोलनलाई समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि तुमाजलाई जेलमा कोचिएको थियो। अहिले यी र्‍यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको इरानका मानवअधिकारवादीहरूले बताएको छन् ।

महिलाहरूका लागि कडा इस्लामिक पोसाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीय इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ अक्टोबरमा ३२ वर्षीय तुमाज सालेहीलाई पक्राउ गरिएको थियो ।

जुलाईमा सालेहीमाथि ‘भ्रष्टाचार’ को आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचार इरानको सबैभन्दा गम्भीर अपराधमध्ये एक हो र यसमा अधिकतम सजाय मृत्युदण्डको प्रावधान छ । र्‍यापर सालेहीका वकिल अमिर राइसिनले इरानको सुधारवादी अखबार सार्गलाई भने, पुनरावेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सजायमा त्रुटिहरू फेला पारेको थियो र सालेहीलाई जमानतमा रिहा गर्न आदेश दियो ।

सालेहीको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा गए राति पोस्ट गरिएको एक तस्बिरमा उनलाई सेतो फूलहरूको गुच्छा समातेर जेलबाट बाहिरिएको देखाइएको छ ।

रिहा भएपछि तुमाज सालेहीले उनको आधिकारिक एक्स (ट्विटर) पृष्ठमा लेखेका छन् “मलाई समयको यातनामा एक्लै बस्नु सबैभन्दा दुखद अवस्था लागेको थियो, तर (अरू आन्दोलनकारी अझै हिरासतमा रहेको अवस्थामा) एक्लै रिहा हुनु अझ तितो हुँदो रहेछ भनेर मैले अहिले बुझेको छु ।

हिरासतमा रहँदाको दिइएको यातनाबाट तुमाजलाई गम्भीर चोट लागेको थियो, आँखामा बेस्सरी सुन्निएको र त्यहाँबाट रगत बगेको, दाँत भाँचिएको र औँलाहरू छियाछिया भएका थिए।

तुमाजविरुद्ध लगाइएका आरोपहरूमा इन्टरनेटमा भ्रम छरेको, राज्यविरुद्ध प्रचार गरेको, मानिसहरूलाई हिंसाका लागि उक्साएको र इरानको शत्रुतापूर्ण सरकारको सहयोगमा सुरक्षामा बाधा पुर्‍याउने उद्देश्यले अवैध समूहहरू गठन गरेको रहेका छन् ।

इरानी अधिकारीहरूले गत वर्षको विरोध प्रदर्शनलाई विदेशीले उक्साएको ‘दङ्गा’ भनेका छन् । सन् २०२२ सेप्टेम्बर १६ मा अमिनीको मृत्युपछि भएका महिनौँको अशान्तिले दर्जनौँ सुरक्षाकर्मी र ६०० मानिस मारिएका थिए भने करिब २० हजारलाई पक्राउ गरिएको थियो । सुरक्षा बलविरुद्ध हत्या र अन्य हिंसासम्बन्धी मुद्दामा सात जनालाई मृत्युदण्ड दिइएको छ । -INS

प्रतिक्रिया