आइतबार, वैशाख १६, २०८१

डा. थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक सार्वजनिक

नेपालखोज २०८० मंसिर ५ गते १८:२३

काठमाडौं । वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा. भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

डा. थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पुर्याएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ ।

विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका डा. थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित हुने धारणा व्यक्त गरे ।

सांसद सुमना श्रेष्ठले डा. थापाको जीवनीमा आधारित पुस्तक हाम्रो र भावी पुस्ताका लागि महत्वपूर्ण ग्रन्थ हुने उल्लेख गर्दै घटनाक्रमलाई विस्तृतरूपमा समेटेर अर्काे पुस्तकको भाग–२ प्रकाशित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिन् ।

अर्थशास्त्री डा. थापाले आफ्नो व्यक्तिगतभन्दा पनि व्यावसायिक जीवनमा देखेका, भोगेका, अनुभवजन्य महत्वपूर्ण घटनाक्रम पुस्तकमा समेटिएको जानकारी दिए । पत्रकार सुधीर शर्माले शासकभन्दा राज्यप्रति बफादर देखिएका बौद्धिक व्यक्तित्च डा. थापाले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए ।

पुस्तक सांसद वाग्ले र श्रेष्ठ, डा थापा, पत्रकार शर्मा र लेखक थापाले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

प्रतिक्रिया