आइतबार, वैशाख २३, २०८१

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने

नेपालखोज २०८० मंसिर ८ गते ८:००

भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताएका छन् । मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताएका छन् ।

‘नयाँ नियमहरू वा नयाँ कानून ल्याउने वा अवस्थित ढाँचालाई परिमार्जन गरेर यसको नियन्त्रण गरिने छ,’ वैष्णवले उल्लेख गरेका छन् । यसका लागि तत्काल काम शुरु हुने र अबको केही साताभित्र नियमावलीको मस्यौदा तयार गर्ने उनले बताए ।

मन्त्री वैष्णवले डीपफेकका विषयमा प्रतिक्रियाहरू बुझ्नका लागि शिक्षाविद्, उद्योगी निकायहरू र सामाजिक सञ्जाल कम्पनीहरूका प्रतिनिधिहरूसँग परामर्श गरिएको जनाकारी बताए । मन्त्रालयका अनुसार आगामी १० दिनभित्र डिपफेक पत्ता लगाउने, गलत सूचना फैलिन नदिने, प्रतिवेदन संयन्त्रलाई सुदृढ गर्ने र जनतामा चेतना जगाउने गरी चार किसिमले कारबाहीयोग्य वस्तु पहिचान गरिने छ ।

डिपफेक भनेको एआई उपकरणहरू प्रयोग गरेर अनुहार र शरीरलाई डिजिटल रूपमा परिवर्तन गर्नको लागि बनाइएको व्यक्तिको भिडियो हो जसबाट उनीहरू अरू कोही जस्तो देखिने गर्छन् ।

यो सामान्यतया दुर्भावनापूर्ण वा गलत जानकारी फैलाउने उद्देश्यले गरिन्छ। भर्खरै सामाजिक सञ्जालमा भारतीय चलचित्र अभिनेत्रीहरूको यस किसमिले बनाइएका नक्कली भिडियोहरू देखा परेको छ जसले देशभर गहिरो आक्रोश पैदा गरेको छ।

प्रतिक्रिया