बुधबार, फागुन ९, २०८०

यूएईका लगानीकर्तालाई लगानी गर्न प्रधानमनत्रीको आग्रह

नेपालखोज २०८० मंसिर १५ गते १८:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गरेका हुन् ।

सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताए । उनले नेपाल र यूएईबीच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो । सोही फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरे ।

उनले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको बताए । नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको आकर्षण रहेको जानकारी लगानीकर्तालाई गराइएको थियो । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने जानकारी गराइएको थियो ।

त्यस्तै, नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, होटेल तथा रिसोर्टलगायत पर्यटनसँगसम्बन्धी पूर्वाधारमा पनि लगानीको सम्भावना रहेको विषय फोरमलमा बताइएको थियो । युएईका लगानीकर्तालाई होटेल, केबलकार, थिम पार्क र हिल स्टेसनलगायत पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरिएको छ । रासस

प्रतिक्रिया