सोमबार, जेठ ७, २०८१

कहिले आउला काठमाडौंमा मेलम्चीको पानी ?

रासस २०८० मंसिर १६ गते १७:३८

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् ।

खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशन दिएका थिए । मन्त्री यादवले निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौंमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ ।

मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै शनिबार पनि त्यतै बसेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुटेका उनको सचिवालयका टङ्क धमलाले बताए ।

उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पुर्याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ ।’

निर्माण व्यावसायीको ढिलाई र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले पानी काठमाडौँ पठाउनका लागि केही ढिलाई भएको मन्त्री यादवले बताए । ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्याउने हाम्रो लक्ष्य हो’, उनले भने ।

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्रगतिमा काम सुरु भएको बताए । उनले भने, ‘मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोष जनक हिसाबले भइरहेको छ ।’

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । क्षति पुर्याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुवँरले बताए ।

उनले भने, ‘यति दिनमा पानी काठमाडौँ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीब्र गतिमा सुरु भएको छ, पानी काठमाडौँमा महिना दिनमा पुर्याउने आशा गरेका छौँ ।’ प्राविधिक र अन्य समस्या भएकाले यतिदिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौँ पुग्ने उनको भनाइ छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए । उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार र जनता पूर्णरुपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटकपटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागहरुको सम्बोधन हुनुपर्छ ।’

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया