शुक्रबार, जेठ ४, २०८१

रुपन्देहीकै ठूलो गैडहवा ताल

नेपालखोज २०८० मंसिर १७ गते ७:३८

रुपन्देही । गैडहवा रुपन्देहीकै सबैभन्दा ठूलो ताल हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रबाट सबैभन्दा नजिक रहे पनि ताल ओझेलमा छ ।

पर्यटकीय हिसाबले नमुना बन्नसक्ने तालमा अहिलेसम्म तीन तहकै सरकारको दृष्टि पुग्न नसकेको स्थानीयको गुनासो छ । ताल ७८.७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

व्यवस्थापन नहुँदा ताल अतिक्रमणको चपेटमा परेको छ । सामुदायिक वनले ताल क्षेत्रको ७३७.४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । यसैगरी ५९.२ हेक्टरमा घाँसे मैदान छ । ३ हजार ४५४.५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन् । ९८.५ हेक्टर क्षेत्रफलमा घर बनाइएको छ ।

ताल संरक्षण र विकासमा सहकार्य गर्न गठन भएको स्थानीय शान्ति युवा क्लबका अध्यक्ष टंकबहादुर बस्नेतले तालको व्यवस्थापन गर्नसके धेरै स्थानीयले रोजगार पाउने र अन्य आम्दानी गर्न सकिने बताए ।

‘स्रोतसाधन भएर पनि ताल ओझेलमा पर्‍यो । अब यसको विकास गर्न स्थानीय पालिका, प्रदेश तथा संघीय सरकारलाई झकझकाउने छौं’, उनले भने ।

गैडहवा ताल चराचुरुङ्गीको बासस्थान पनि हो । प्रायः सबै सिजनमा यहाँ साइबेरियन चराहरुको भीड लाग्छ । गैडहवा- ९ की वडाध्यक्ष मीना क्षेत्रीले सबैको पहलमा ताललाई आम्दानीको स्रोत बनाउनुपर्ने बताइन् ।

‘अहिलेसम्म हामीले यहाँबाट चाहे जसरी आम्दानी लिन सकेका छैनौं, यसलाई बलियो स्रोत बनाउन सकिन्छ भन्ने धेरै आधार छन्’, उनले भने, ‘अब पालिकाको अभियानमा सबै मिलेर अगाडि बढ्नुपर्छ, लुम्बिनी आएका पर्यटकलाई एक दिनमात्रै यहाँ राख्न सक्ने बनाए धेरै राम्रो हुन्छ ।’

तालमा माछापालन गरेर पनि राम्रो आम्दानी लिन सकिन्छ । तर, यसअघि ठेक्का लिएका व्यक्तिले रकम नतिरेर उल्टै पालिकाको नाममा मुद्दा दिएकाले त्यो काम दुई वर्षदेखि रोकिएको थियो । तर, अब त्यसलाई पुनः चलाउने पालिका अध्यक्ष सुरेन्द्र पौडेल बताउँछन् ।

‘अब माछा पाल्ने, डुंगा चलाउने, चरा संरक्षणका थप योजना बनाउने, वरिपरिको अतिक्रमण रोक्ने र यसको पूरा संरक्षण गर्ने र बढीभन्दा बढी प्रचारप्रसारमा ध्यान दिने योजनामा छौं’, पौडेलले भने ।

कसरी बन्यो तालको नाम ?

तालमा अहिले पर्यटक लक्षित २ वटा अटोमेटिक मेशिन जडित तथा २ वटा खुट्टाले चाल्ने डुङ्गा सञ्चालनमा छ । सुरुमा गैंडाहरु आहाल बस्ने भएकाले तालको नाम गैडहवा राखिएको स्थानीयको भनाइ छ ।

यसको प्रवर्द्धन गर्न स्थानीय पालिकाको नामसमेत तालकै नाममा राखिएको छ । साविकको सूर्यपुरा, विष्णुपुरा, साडी र जोगडा गाविस मिलाएर गैडहवा गाउँपालिका बनाइएको हो ।

पालिका अध्यक्ष पौडेलले पर्यटन विकास गर्न तालको व्यवस्थापन आफूहरुको पहिलो प्राथमिकतामा परेको बताए । लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको विकास, नागरिकमा सीप विकास गरी होमस्टे सञ्चालनको तयारी गरिएको उनले बताए ।

स्थानीय तहमा गिद्ध संरक्षण गरेर बसेका बाबुराम मल्लका अनुसार ताल अहिले पनि विभिन्न ५० प्रजातिका चराचुरुङ्गीको बासस्थान हो । मल्लकै अगुवाइमा तालमा सानो खैरो, गोब्रे, हिमाली गिद्ध संरक्षण गरिएको छ ।

तालको विकासका लागि लुम्बिनी प्रदेश सरकारले समेत विस्तृत गुरुयोजना निर्माण गरी पहिलो वर्ष ४० लाख रूपैयाँ बजेट खर्च गरेको थियो ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत गैडहवा ताल संरक्षण गर्न नेपाली सेनाले पुनर्निर्माण गरेको थियो । जसले तालको मुहार केही परिवर्तन भएको छ । लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्ने योजनासहित तालको पुनर्निर्माण गरिएको थियो ।

पुनर्निर्माणपछि सेनाले ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया