आइतबार, मंसिर २८, २०८२

असफल विद्रोहपछि सिएरा लियोनका नेताद्वारा कानूनको सम्मान गर्न आह्वान

नेपालखोज २०८० मंसिर १७ गते १५:२३

फ्रिटाउन । सिएरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले शनिबार गत साता सत्ता हत्याउने प्रयासमा आफ्नो सरकारको प्रतिक्रिया ‘कानूनको सम्मान’ द्वारा निर्देशित हुने बताएका छन् ।

उनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘सत्ता हत्याउने प्रयासलाई मेरो सरकारले राजनीतिक, आदिवासी वा धार्मिक मुद्दाका रूपमा नभई सार्वजनिक व्यवस्थाको एउटा सामान्य मामिलाका रूपमा मान्नेछ’, उनले भने, ‘नोभेम्बर २६ को घटनामा हाम्रो प्रतिक्रिया एउटै प्यारामिटरले मापन र निर्धारण हुनेछ र त्यो हो कानूनको सम्मान, न धेरै न कम ।’

नोभेम्बर २६ को बिहानै सशस्त्र हमलाकारीहरूले सुरक्षा बलको सामना गर्दै एउटा सैन्य शस्त्र भण्डार, दुई ब्यारेक, दुई कारागार र दुई प्रहरी चौकीमाथि आक्रमण गरेका थिए ।

सूचनामन्त्री चेर्नोर बाहका अनुसार भिडन्तमा १४ सैनिक, एक प्रहरी, एक कारागारका गार्ड, एक सुरक्षा गार्ड, एक महिला र तीन आक्रमणकारीसहित कूल २१ जनाको मृत्यु भएको थियो । सत्ता हत्याउने प्रयासमा सामेल भएको आशङ्कामा १३ सैनिक र एक सर्वसाधारणलाई हिरासतमा राखिएको छ ।

प्रहरीले ‘भगौडा’ का रूपमा खोजी गरिएका ३२ पुरुष र दुई महिलाको तस्बिर र नाम जारी गरेको छ । उनीहरूमा सेवारत तथा अवकासप्राप्त सैनिक तथा प्रहरी अधिकारी पनि छन् । उनीहरूलाई पक्रनका लागि जानकारी दिने कुनै पनि व्यक्तिलाई ‘राम्रो पुरस्कार’ दिने वाचा गरिएको छ ।

‘दोषी जस्तोसुकै स्थितिमा भए पनि उनीहरू सबैलाई कानूनको दायराभित्र राखिने छ’, जुनमा दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति बायोले भने, ‘गत महिनाका घटनाहरू सुस्पष्ट ढङ्गले सत्ता हत्याउने प्रयास थियो ।

हिंसात्मक र गैरकानूनी माध्यमबाट लोकतान्त्रिकरूपले निर्वाचित सरकारलाई पराजित गर्न, संवैधानिक व्यवस्थालाई उल्ट्याउन तथा शान्ति र लोकतन्त्रमा हाम्रो दशकौँको लगानीलाई उल्ट्याउनका लागि पूर्वनियोजितरूपमा आक्रमणको समन्वय गरिएको थियो ।’

पश्चिम अफ्रिकी क्षेत्रमा सन् २०२० पछि माली, बुर्किना फासो, नाइजर र गिनीमा सत्ता हत्याउने शृङ्खला देखिएको छ । शनिबार गिनी बिसाउले सेना र सुरक्षा बलबीचको झडपपछि यसै साताको प्रारम्भमा ‘सत्ता हत्याउने’ प्रयासको निन्दा गरेको छ ।

प्रतिक्रिया