शनिबार, जेठ ५, २०८१

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

नेपालखोज २०८० मंसिर १७ गते १७:१०

नेपालगञ्ज (बाँके) । कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् ।

लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर-८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस, दुई किलो एक सय १६ ग्राम अफिम बरामद गरेको हो ।

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो ।

साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।

प्रतिक्रिया