शनिबार, जेठ ५, २०८१

नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

नेपालखोज २०८० मंसिर २० गते १६:२५

काठमाडौं । नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

जसमा ईश्वर अधिकारीले ठमेलमा कन्सल्टेन्सी चलाएको र जहाँबाट ६ जना पक्राउ परेका हुन् । त्यस्तै, सुजताले नर्मल भिषा लगाइदिने गरेको प्रहरीलाई खुलाएकी छन् । उनीहरुले जनही ८ लाखसम्म लिएर रुस पठाउने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, हरिबहादुर विश्वकर्माले भने मेनपावर नै खोलेर हालसम्म १८ जना पठाइसकेको प्रहरीले जनाएको छ । त्यस्तै, बहालवाला दुईजना प्रहरीले नै प्रक्रिया अघि बढाएको समेत अनुसन्धानले देखाएको छ ।

उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय रुस-युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् । यसरी अवैधरुपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् ।

प्रतिक्रिया