बुधबार, वैशाख १९, २०८१

राष्ट्र बैंकले गर्याे विदेशी विनियम कारोबार सम्बन्धी वि-नियमावली संशोधन

नेपालखोज २०८० मंसिर २५ गते १२:३७

काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संंशोधन गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र प्राप्त गरी विदेशी विनिमयको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र प्रदान गर्ने एवम् निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली संशोधन गरेको राष्ट्र बैंकको भनाई छ ।

संशोधित विनियमावली अनुसार विदेशी विनिमयको कारोबार गर्ने बैंक वा वित्तीय संस्था, फर्म, कम्पनी वा संस्था र क्यासिनोले यस विनियमावली बमोजिम इजाजतपत्र लिनु पर्नेछ । विदेशी विनिमयको कारोबार गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको लागि विदेशी विनिमय कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउण्टरहरूको नाम, ठेगाना सहित विभागमा निवेदन दिनुपर्नेछ ।

राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा त्यस्तो निवेदन पेश गर्नु पर्नेछ । विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न विदेशी मुद्राको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले देहाय बमोजिमको शुल्क राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

यस अन्र्तगत बैंकले एकमुष्ट पाँच लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकले एकमुष्ट एक लाख रुपैयाँ र प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरुले एकमुष्ट २० हजार रुपैयाँ बुझाउनु पर्ने छ । यसरी सबै प्रकृया पुरा गरी आएको निवेदन उपर छानबिन गरी उपयुक्त देखिएमा बैंक तथा वित्तीय संस्थालाई विदेशी विनिमय कारोबारको लागि विभागले सम्पूर्ण स्थानको लागि एउटै इजाजतपत्र प्रदान गनैं संशोधित व्यवस्थामा उल्लेख छ ।

यस प्रकारको इजाजतपत्र प्रदान गर्दा भौतिक पूर्वाधारको स्थलगत निरीक्षण आवश्यक नर्पने र राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थालाई आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागबाट त्यस्तो इजाजतपत्र प्रदान गरिने संसोधित व्यवस्थामा उल्लेख छ ।

विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको लागि नियम बमोजिमको शुल्क लिई बैंक तथा वित्तीय संस्था एवम् तिनका शाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरहरूलाई विदेशी विनिमय खरिद-बिक्री कारोबार तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी इजाजतपत्र प्रदान गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखा तथा एक्सटेन्सन काउण्टरहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् । बैंकका सम्पूर्ण शाखाहरूले कम्तिमा पनि विदेशी मुद्रा खरिदको कारोबार गर्नुपर्नेछ भने वित्तीय संस्थाले विदेशी विनिमयको कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउण्टर तोकी त्यस्ता शाखा तथा एक्सटेन्सन काउण्टरबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार विदेशी विनिमयको कारोबार गर्न निवेदन दिने फर्म, कम्पनी, संस्थाको संचालक÷पदाधिकारी १८ वर्ष उमेर पूरा भएको, मानसिक सन्तुलन ठीक भएको, ऋण तिर्न नसकी साहूको दामासाहीमा नपरेको, बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको, प्रचलित कानुन बमोजिम कर चुक्ता गरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय नपाएको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवाको पदमा बहाल नरहेको,बैंक तथा वित्तीय संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित नभएको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुरमा सजाय नपाएको, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमिदेखिएको भए सजाय भुक्तान गरेको भए पाँच वर्ष व्यतीत भइसकेको (प्रमाण पेश गर्नु पर्ने) हुनु पर्ने छ ।

प्रतिक्रिया