मेची बगरमा युवाले फलाए ८६ लाखको आलु

झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो । आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए ।
उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् । फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल रु तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए ।
आलु व्यापारीले फार्मबाट प्रतिकेजी रु ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ । गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताए । आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए ।
त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए । खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा जानुभएको थियो । विदेशबाट फर्केपछि उहाँ परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ । आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् ।
काँसघारी फँडानी गरेर ट्र्याक्टरले बाँझो फुटाएको उक्त जग्गा सीमानाको दशगजामै जोडिएको छ । कतिपय जग्गामा बर्खामा खोलाको भेल पस्ने त्रास छ । काँसघारीलाई उर्बर जमिनमा परिणत गर्न निकै मिहेनत र लगानी खर्च भएको नेपालले बताउनुभयो । फार्मका कृषि प्राविधिक विमल तामाङले बगरको मिश्रित दोमट माटोमा उर्बरा शक्ति धेरै हुने भएकाले आलुखेतीका लागि उक्त जग्गा चयन गरिएको बताए । उनले फार्ममा गोबर र तोरीको पिनालाई मलको रुपमा अत्यधिक प्रयोग गरिएको जानकारी दिए । फार्मले स्थानीय कालिका प्राथमिक विद्यालयको ८६ बिघा र स्थानीयवासीको २२ बिघा गरी एक सय आठ बिघा जग्गा लिजमा लिएको हो ।
सोमध्ये ११ बिघामा आलु खेती र अढाइ बिघा जग्गामा फर्सी खेती गरिएको छ । अन्य जमिनमा लौका, टमाटर, फूलकोपीलगायतका तरकारी लगाइएको छ । बर्सातको समयमा मेची नदीमा आउने बाढीले पु¥याउन सक्ने क्षति फार्मको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट फार्मले हालसम्म कुनै अनुदान लिएको छैन । नदीमा तटबन्धन र फार्मसम्म विद्युतीय प्रसारण लाइन पु¥याइदिन स्थानीय सरकारसँग आग्रह गरिएको सञ्चालक खनालले बताए ।

प्रतिक्रिया