शनिबार, जेठ ५, २०८१

एप्पलका चिफ डिजाइनरले दिए राजीनामा

नेपालखोज २०८० मंसिर २७ गते १७:५३

काठमाडौं । आइफोन १६ सिरिज लञ्च हुनुभन्दा पहिले एप्पल कम्पनीमा महत्वपूर्ण परिवर्तन हुने भएको छ । एप्पल कम्पनीका प्रडक्ट डिजाइन प्रमुख ट्यांग टेनले राजीनामाको घोषणा गरेका छन् । योसँगै अब उनले एप्पलको आगामी प्रोजेक्टमा काम गर्ने छैनन् । उनले आउँदो फेब्रुअरीमा एप्पल छाड्नेछन् ।

मिडिया रिपोर्ट अनुसार कम्पनीका महत्वपूर्ण सदस्य टेन आफैंले कम्पनी छाड्ने निर्णय गरेका हुन् । एप्पलका प्रडक्टको डिजाइनमा टेनको ठूलो योगदान रहँदै आएको छ । उनले एप्पल वाच तथा एयरपड्स जस्ता एप्पलका विभिन्न लोकप्रिय प्रडक्टहरु डिजाइन गरेका थिए । त्यसैले उनको राजीनामा एप्पल कम्पनीका लागि ठूलो झट्का सावित हुने देखिन्छ ।

टेनको टिम एप्पलका डिभाइसहरुको लुक तथा इन्जिनियरिङका लागि जिम्मेवार हुन्छ । टेनले एयरपड्स तथा एप्पल वाचको लोकप्रियतामा पनि अहम् भूमिका निर्वाह गरेका थिए ।

सन् २०२४ को फेब्रुअरीमा टेनले छाडेसँगै कम्पनीको प्रडक्ट लाइनमा असर पर्ने पक्कापक्की रहेको विश्लेषकहरु बताउँछन् । टेन एप्पलका वरिष्ठ उपाध्यक्ष जोन टर्नसको प्रत्यक्ष मातहतमा थिए । टर्नससँग हार्डवेयर इन्जिनियरिङको महत्वपूर्ण प्रोजेक्ट थियो ।

टेनको बहिर्गमनसँगै एप्पलमा फेरबदलको क्रम सुरु हुने बताइएको छ । अब उनको ठाउँमा रिचर्ड डिन प्रमुख प्रडक्ट डिजाइनरको पदमा बढुवा हुनेछन् । डिनलेहाल आइफोन प्रडक्ट डिजाइनको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यस्तै म्याक हार्डवेयर इन्जिनियरिंग टिमको नेतृत्व गरिरहेका केट बरगेरोलाई एप्पल वाचको डिजाइन प्रमुखको जिम्मेवारी दिइने सम्भावना छ । –एजेन्सी

प्रतिक्रिया