शनिबार, वैशाख १५, २०८१

‘ट्वेल्व एंग्री मेन’को नेपाली अनुवाद ‘१२ दुर्वासा’ पोखरामा मञ्चन हुँदै

नेपालखोज २०८० पुष १० गते १९:५३

पोखरा । चर्चित अमेरिकन नाटककार रेग्नाल्ड रोजले टिभी सिरिजका लागि लेखेको नाटक ‘ट्वेल्व एंग्री मेन’ पोखरामा मञ्चन हुने भएको छ । उक्त नाटक पोखरामा ‘१२ दुर्वासा’ नाममा २६ गतेदेखि पोखरा थियटरमा मञ्चन हुन लागेको हो ।

रोजले उक्त ‘कोर्टरुम’ नाटक सन् १९५४ लेखेका थिए । अमेरिकामा व्याप्त वर्ण विभेदमाथि लेखिएको उक्त नाटक उनको बहुचर्चित नाटक अन्तर्गत पर्दछ । उक्त नाटकमा आधारित भएर थुप्रै भाषामा नाट्य रुपान्तरण तथा फिल्म बनिसकेको छ ।

पोखरा नाटक घरमा २६ गतेदेखि बुधबारबाहेक माघ १३ गतेसम्म मञ्चन हुने उक्र नाटकलाई सुरेश सापकोटाले नेपालीमा भावानुवाद गरेका हुन् भने परिवर्तनले निर्देशन गरेका छन् । तत्कालीन समयमा अमेरिकामा हुने काला र गोरा जातिबीचको वर्गीय द्वन्द्व ‘ ट्वेल्व एंग्री मेन’मा समेटिएको भए पनि उक्त कथालाई नेपालको वर्गीय विभेदसँग जोडेर नाटक अनुवाद गरिएको निर्देशक परिवर्तनले जानकारी दिए ।

‘अमेरिकामा वर्णको विभेद छ । हाम्रोतिर ठिक त्यही नभए पनि जातीय, वर्गीय र लैंगिक विभेद छ । त्यसैलाई नै नेपाली समाजसँग मिल्दोजुल्दो गरी अनुवाद गरिएको छ,’ परिवर्तनले भने, ‘विश्वका थुप्रै भाषामा नाट्य रुपान्तरण र फिल्म बनिसकेको नाटकलाई पोखरामा पनि मञ्चन गर्न लागेका हौं ।’

नाटकमा एउटा सुकुम्बासी बस्तीको कथा देखाइनेछ । जहाँ एउटा छोरोले बाबुको हत्या गर्छन् र त्यहींबाट कथा सुरु हुनेछ । ‘त्यसपछि पात्रहरुले आफ्नो चेतनाअनुसार घटनालाई कसरी वर्णन, प्रस्तुत गर्छन् भन्ने कुरा नै नाटकमा देखाउन खोजेका छौं,’ उनले भने । नाटकमा १३ जना कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया