आइतबार, जेठ ६, २०८१

नारायणगढ–बुटवल सडकखण्ड : १८ किलोमिटर कालोपत्रे

नेपालखोज २०८० पुष ११ गते ८:२९

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर ९ठेक्का व्यवस्थापक० राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उनको भनाइ छ ।

‘कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब चार सय मिटर विवाद भएको छ,’ उनले भने, ‘एक महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्र गरिसकिन्छ ।ु आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैंडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने जानकारी दिए ।

ुदोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ, त्यतिबेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,ु उनले भने, ुहामीले विसं २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माणलाई तीव्रता दिएका छौँ ।ु सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन । गैंडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेका कारण त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको भन्दै त्यसबाहेक अन्य अवरोध नरहेको उनले बताए ।

विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ बाट सडक विस्तारको काम सुरु गरिएको थियो । नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए ।

यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये अधिकांश पुलको निर्माण सकिएको उनले बताए । यस खण्डको कुल बजेट ९ अर्ब १५ करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ ।

नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७ दशमलव चार किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको चार दशमलव एक किलोमिटर उकालोमा तीनलेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि आयोजनाको पूर्वी खण्डमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् । रासस

प्रतिक्रिया