बिहीबार, वैशाख २०, २०८१

नरपानीमा पर्यटक बढे

नेपालखोज २०८० पुष १५ गते १५:२९

अर्घाखाँची । नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ । यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन् । मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता बनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ ।

नरपानीमा कपिलबस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक हजारौँ सङ्ख्यामा मानिस आउने गरेका छन् । विशेष गरी बिदा र शनिबारका दिन यहाँ झण्डै ५० देखि एक सय वटा समूह आउने गरेको सन्धिखर्क नगरपालिका वडा–६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले बताए ।

नरपानी कपिलबस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ । नरपानीमा हाल गङ्गा सरोवर निर्माण गरी पर्यटकलाई डुङ्गा सयर गराउने उद्देश्यले नगरपालिकाले योजना बनाएको छ । गङ्गा सरोवरमा नेपाली झण्डा राख्ने र अन्य संरचना निर्माण भइरहेको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

नजिकैको प्रसिद्ध सुपा देउराली मन्दिरमा बलीका रुपमा पाठापाठी चढाउने र यसरी बली दिइएका पाठापाठी नरपानीमा बसेर प्रसाद खाने चलन रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । विशेष गरी मनोकामना पूरा हुने विश्वासका सुपा देउरालीमा पाठापाठी भाकल गर्ने चलन छ ।

मन्दिरमा हाल दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताए । मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेश, विहारबाटसमेत भक्तजन आउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया