शुक्रबार, वैशाख २१, २०८१

२०२३ मा नेपाल आए १० लाख पर्यटक, अब कसरी बढाउने ?

नेपालखोज २०८० पुष १५ गते १५:५७

काठमाडाैं । कोभिड महामारीका कारण थला परेको पर्यटन व्यवसायमा नेपाल पर्यटन बोर्डको २०२३ मा १० लाख पर्यटक नेपाल आएको तथ्याङ्क ठुलो आशा पलाएको छ।

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ। १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार आठ सय ४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ। चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पुर्‍याउने घोषणा गरेको थियो। सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा पनि छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यस वर्ष तीन लाख १३ हजार नौ सय एक पर्यटक नेपाल आएका छन्। त्यसैगरी, अमेरिकाबाट ९९ हजार तीन सय २६ र चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। संयुक्त अधिराज्य (युके)बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बङ्गलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, दक्षिण कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ ।

यसबीच नेपाल भ्रमण दशक (२०२३–३२) अवधारणा स्वीकृत भएर कार्यान्वयनमा ल्याएको छ। कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको घोषणा भएको हो। ‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र मुलुकका वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकले लक्ष्य लिएको छ। विश्वका परम्परागत पर्यटन बजारबाट नेपालले पर्यटकलाई आतिथ्य प्रदान गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्षलगायत सन् २००० र २०१० को दशकका अवधिमा अनेकन अभियान सञ्चालन गरे पनि लक्षित उपलब्धि हासिल हुन सकेको छैन।

निजी क्षेत्रको लगानीमा वृद्धि तथा पर्यटकीय पूर्वाधारहरूको विकासले ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भइसकेको छ। राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रमहरूलाई निजी क्षेत्रसँगको सहभागिता र समवन्यमा कार्यक्रमहरू द्रुत गतिमा अगाडि बढाउने काम भइरहेको छ।

विगतको अनुभवबाट पाठ सिक्दै भ्रमण दशकको कार्यान्वयन गर्न ल्याइएको कार्ययोजनाअनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्‍याउने लक्ष्य लिइएको छ। पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ। आगामी १० वर्ष भित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ। पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वयमा जोड दिइएको छ।

भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट एक सय २५ पुर्‍याउने लक्ष्य राखेको छ। कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पुर्‍याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ।

यस वर्ष १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकामा गत वर्षदेखि सुधार भएको छ । -INS

प्रतिक्रिया