आइतबार, जेठ ६, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

नेपालखोज २०८० पुष २२ गते १३:३१

काठमाडौं । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१४ थारु डण्डास्थित सडकमा ले.३ त ४९५५ नम्बरको ट्याक्टर र लु.२९ प १५३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक देउचुली नगरपालिका–१५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित सडकमा मे.५ प ७२४८ नम्बरको मोटरसाइकललाई प्र.१–०१–००२ ख ०१४९ नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ बस्ने ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको बिएण्डसि अस्पताल विर्तामोड पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलमा प्र.१–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका–२ सुकुनाडिकी बस्ने २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया