आइतबार, वैशाख २३, २०८१

मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि

नेपालखोज २०८० पुष २४ गते ९:०७

झापा । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् । जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना घाइते भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । सोही अवधिमा छवटा हात्ती मारिएका छन् ।

हात्ती आक्रमणका घटना अध्ययन गर्दा बिहानी पैदलयात्रा ९मर्निङ वाक० गर्ने, जंगल छेउछाउ घाँसदाउरा काट्ने र जंगलभित्र निगुरो र च्याउ टिप्न जाने मानिस निशानामा परेको देखिन्छ । कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्षअघि हात्तीको आक्रमणमा मृत्यु भएको थियो । दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई बिहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मार्यो । उनी हल्दिबारीको चिया बगानमा जंगली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा परेका थिए । जिल्लाको उत्तरी चुरे भागबाट दक्षिणको जलथल प्राकृतिक वन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र पर्छ । यहाँ भारतको आसामबाट हात्तीको बथान बर्सेनि आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको संख्यामा रहेका रैथाने हात्तीको बासस्थान नै यहीका जंगल भएको छ ।

हात्तीसम्बन्धी अध्येता झापा र मोरङको धेरै भू–भाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन् । हात्तीको पुरानो बासस्थान भनिएको पहिलेको जंगली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको ६० वर्षमा जंगल मासिएर मान्छेको बस्तीले ढाकिसकेको छ ।

तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शंकर लुइँटेल बताउँछन् । ‘पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ’, लुइँटेल भन्छन्, ‘यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ ।’

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंस्रक व्यवहार प्रदर्शन गर्ने उनी बताउँछन् । हात्ती आहारको खोजीमा गाउँ पसेको बेला मर्निङ वाकमा हिँडेका, निगुरो र च्याउ टिप्न गएकाहरु हिंस्रक आक्रमणको निशानामा पर्ने गरेका छन् ।

हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजवंशीको यही पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो । हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो । शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घरछेउमै आक्रमण गर्दा मृत्यु भयो । हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कँदा राई हात्तीको निशानामा परेका थिए ।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउँछन् । जनप्रतिनिधि हुनुअघि दुई दशकदेखि उनी हात्तीबाट मानिसको जनधनमा हुने क्षति न्यूनीकरणका लागि विभिन्न नयाँ अभ्यास भित्र्याउने अभियन्ताका रूपमा चिनिन्छन् ।

“हात्ती आफैँमा आक्रामक प्राणी होइन । उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ”, वडाध्यक्ष कार्की भन्छन्, “मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागु गर्न थालेका छौँ । यसले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको छ ।”

जिल्लामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । बर्सेनि बाहुनडाँगीमा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्तीपीडित क्षेत्रका रूपमा चिनिन पुग्यो । तर सहअस्तित्वको नीति व्यवहारमा लागु गर्न थालिएपछिको विगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन । हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जङ्गलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन् ।

बाहुनडाँगीमा हात्तीले बाली खाएमा क्षतिपूर्ति दिनका लागि बाली बीमा गर्न थालिएको कार्कीले बताए । हात्तीलाई तालिमप्राप्त युवा दस्ताले रातभर गस्ती गर्ने र बस्तीमा पस्न नदिने सुरक्षात्मक रणनीति पनि बाहुनडाँगीमा अपनाइएको छ । हात्ती गाउँतिर पसेको संकेत दिनका लागि साइरन जडान गरिएका छन् । मानिस विगतमा जस्तो हात्तीको पछाडि दगुरेर खेदाउने जोखिमपूर्ण कार्य गर्दैनन् ।

झापा र मोरङमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको हात्तीका विषयमा विद्यावारिधि गरेका दिनेश न्यौपानेले बताए । उनका अनुसार हात्तीलाई बिच्क्याउने प्रवृत्तिका कारण हात्ती अझ बढी हिंस्रक भएर मानिसमाथि जाइलाग्छ । रासस

प्रतिक्रिया