आइतबार, जेठ ६, २०८१

एनसेलको सेयर खरिदबिक्रीबारे छानबिन गर्ने समितिको म्याद थप

नेपालखोज २०८० पुष २५ गते १८:१९

काठमाडौं । सरकारले एनसेलको सेयर स्वामित्व खरिदबिक्रीबारे छानबिन गर्न बनाएको समितिको म्याद थप गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वको पाँच सदस्यीय समितिको म्याद १५ माघ गतेसम्मका लागि थपेको हो ।

सरकारले २१ मंसिरमा एक महिनाको कार्यावधि दिएर एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिको म्याद २१ पुसमा सकिएको थियो ।

मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्स अन्तर्गतको एनसेलमा रहेको सबै शेयर (८० प्रतिशत) बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको थियो । टेलिकम कम्पनी एनसेलको २० प्रतिशत शेयर नेपाल कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ ।

नियमनकारी निकायको पूर्वस्वीकृतिबिना बिक्री गरेको र कर छल्न खोजेको हुनसक्ने आशंकामा प्रश्न उठेपछि समिति गठन भएको थियो ।

प्रतिक्रिया