शनिबार, जेठ ५, २०८१

बिहीबारको व्रत किन बस्ने ? यसरी गर्नुपर्छ भगवान् विष्णुको पूजा !

नेपालखोज २०८० पुष २६ गते ६:३०

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान् श्रीहरि विष्णुको पूजा-आराधना गर्ने परम्परा छ । आजको दिन व्रत बस्दा धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने मान्यता छ ।

यो दिन पहेंलो रङको कपडा लगाउने र पहेंलै वस्तुको दान गरे सौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गर्ने गरिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्छ । त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेंलो वस्त्रधारण गर्न साथै पहेंलो फूल र चन्दनलाई एकसाथ मिलाएर प्रसाद बनाउने र यो प्रसाद भगवान्‌लाई अर्पण गरेर पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ ।

यसबाट भगवान् विष्णु प्रसन्न भएर उनको आशीर्वाद तपाईंको घरमा सधैं भइरहनेछ । व्रतको दिन शुद्ध भएर ‘‌ओम गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्छ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेंलो चन्दन, चनाको दाल, छाता, मिठाइको रुपमा लड्डु आदिको दान गरे लाभ मिल्नेछ । भोजन गर्दा एकछाक नुन बार्नुपर्छ ।

यसरी गर्नुहोस् पूजा
१. भगवान् विष्णुको प्रतिमा तथा फोटो तयार पार्नुहोस् ।
२. मन्दिरमै जानुहुन्छ भने भगवान्‌लाई चढाउने प्रसाद तयार गर्नुहोस् ।
३. स्नान गरी चोखो ,सफा सुग्घर बन्नुहोस् ।
४. पूजाका लागि आवश्यक सफा जल,जौं तिल फूल र अक्षता एकै ठाउँमा संग्रह गर्नुहोस् ।

पूजा गर्ने विधि

– सुरुमा मूर्ति अथवा फोटोको अगाडि पवित्र मनले दीयो जलाइदिनुहोस् ।
– दीयो जलाइसकेपछि भगवान्‌लाई मनपर्ने तपाईंले तयार पारेको प्रसाद चढाइदिनुहोस् ।
– महिला भक्तजन भए आफ्नो साडी अर्थात् सलले पूजा समयमा शिर छोप्नुहोला ।
– अब अगरबत्ती जलाइ त्यसलाई हातमा लिएर विष्णु भगवान्‌लाई विभिन्न सुगन्धसहित पूजा आराधना गर्नुहोस् ।
– फूल, अक्षता, पातीहरु अगरबत्ती बालेर आराधना गरिसकेपछि चढाइदिएर पूजा गर्नुहोस् ।
– विष्णु भगवान्‌को मन्त्र उच्चारणमाथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ति गाइरहनुहोस् ।
– तपाईंको मनमा विष्णु भगवान् भएको कल्पना गर्नुहोस्,आँखा बन्द गरेर विष्णु भगवान् आफूसँगै भएको महसुस गर्नुहोस् ।
– भगवान्‌सँग बोल्नुहोस्, केही इच्छित कुरा भए माग्नुहोस् र तपाईं उहाँको भक्त भएको भान गराउनुहोस् ।
– भगवान्‌को शिरमा टीका लगाएर आफू पनि लगाउनुहोस् र अरुलाई पनि लगाइदिनुहोस् ।
– सम्पूर्ण भक्तजन साथै स्वयं आफैंले प्रसाद लिनुहोस्, खुवाउनुहोस् ।

बिहीबारको व्रत किन ?
वैवाहिक सुख प्रप्तिका लागि, गुरु वृहस्पतिको अनिष्ट फल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहीबारको व्रतको सम्पादन गरिन्छ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेंलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्छ ।

बिहीबार जन्मिएका व्यक्तिहरू कस्ता हुन्छन् :
१. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्छन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हासिल गर्नुहुन्छ ।
५. तपाईं निकै मिहिनेत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
१०. बिहीबार जन्मेका व्यक्ति आकर्षक हुने भएकाले पनि उनीहरु प्रेम विवाहप्रति बढी आकर्षित हु्न्छन् । उनीहरुको वैवाहिक जीवन पनि सुखमय हुने गर्छ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानोतिनो रोगको सिकार हुने गर्छन् जस्तै- ज्वरो, पेट दुखाइ अथवा टाउको दुखाइ ।
१२. बिहीबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्छन् र मन खोलेर खर्च पनि गर्छन् ।

प्रतिक्रिया