आइतबार, वैशाख १६, २०८१

दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी

नेपालखोज २०८० पुष २६ गते १४:२४

काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ ।

जसलाई ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि रु फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ ।

आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

‘मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङमात्रै थाहा भयो, तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ, अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ’, मैनालीले भने ।

‘मनिसले सत्य नबक्न पनि सक्छ, तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ’, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले थपे, ‘अहिले हामीले कोटेश्वरको मुनिभैरव, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रमा जडान गरेका छौँ ।’ आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ । उनका अनुसार चारवटा मुनिभैरवमा, चारवटा महाराजगञ्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ । त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ । त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ ।

यसअघि प्रहरीलाई ‘हिट एण्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ ।

केही दिनअघि जडान गरिएको उक्त क्यामेराका लागि काठमाडौं महानगरपालिकाको सहयोग रहेको छ । यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ । अरु पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ, अब यो आर्थिक वर्षभरिमा काठमाडौंका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिए । रातिको समयका लागि समेत यसले काम गर्छ । गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ ।

उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको छ । उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौंको प्राविधिक सहयोग रहेको छ । सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक–फरकरूपमा काम गर्ने बताए ।

उनले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताउनुभयो । हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ । भीडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उनले बताए ।

प्रतिक्रिया