शनिबार, वैशाख १५, २०८१

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन

नेपालखोज २०८० पुष २७ गते १४:१०

गण्डकी । पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ । अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका हुन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार पारिएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका छन् ।

नाटकमा नाट्यकर्मी रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुसाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेल रहेका छन् । प्रिमियर शो हेर्न पुगेका दर्शकले उक्त नाटक मन परेको भन्दै नाटक समूहको कामको प्रशंसा गरेका थिए ।

आगामी माघ १३ गतेसम्म मञ्चन हुने उक्त नाटकले वर्गीय, जातिय, क्षेत्रीय तथा लैङ्गिक समाजको चित्रण गर्ने भएकाले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटक छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनाबीच छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सङ्र्घष नै नाटकको विषयवस्तु हो ।

प्रतिक्रिया