शनिबार, वैशाख १५, २०८१

माइक्रोसफ्ट बन्यो संसारकै सबैभन्दा मूल्यवान कम्पनी

नेपालखोज २०८० माघ १ गते १३:२६

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पललाई झट्का लागेको छ र दोस्रो ठूलो कम्पनी माइक्रोसफट्ले अग्रता हासिल गरेको छ ।

माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थान कब्जा गर्न सफल भएको हो ।

पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टको शेयर मूलयमा १.६ प्रतिशत वृद्धि भएसँगै बिहीबार कम्पनीको कुल बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको हो ।

उता एप्पल कम्पनीको शेयर मूल्यमा ०.९ प्रतिशतले गिरावट आएर बजार मूल्य भने २.८७१ टि्रलियन डलर कायम भएको छ । अर्थात् एप्पलको तुलनामा ०.३ प्रतिशतले अग्रता हासिल गर्दै माइक्रोसफ्ट सन् २०२१ पहिलोपटक विश्वको सबैभनदा मूल्यवान कम्पनी बनेको हो ।

विज्ञका अनुसार यो वर्ष सन् २०२४ मा आइफोनको खराब सुरुवात सँगै एप्पलको पहिलो स्थान खस्किएको हो ।

आइफोनको मागमा सन्तोषजनक वृद्धि नभएसँगै एप्पलको शेयर मूल्यमा पनि गिरावट आएको छ ।

जनवरी महिनामा हालसम्म एप्पलको शेयरमा ३.३ प्रतिशतले गिरावट आएको छ भने माइक्रोसफ्टको शेयर मूल्य १.८ प्रतिशतले वृद्धि भएको छ । यद्यपि विश्वको सर्वाधिक मूल्यवान कम्पनीको ताज जोगाइराख्नु माइक्रोसफ्टका लागि सहज भने हुनेछैन । किनकि एप्पलसँग उसको अग्रता निकै कम मात्र छ र आफ्नो पुनरागमनका लागि एप्पलले ठूलो मिहिनेत गर्नेछ ।

स्मरण रहोस् गत डिसेम्बर १४ मा एप्पल कम्पनीको मूल्य हालसम्मकै धेरै अर्थात् ३.०८१ ट्रिलियन डलर पुगेको थियो ।

ओपन एआई कम्पनीसँगको सहकार्यमा गत वर्ष सन् २०२३ मा आक्रामक रुपमा एआई प्रविधियुक्त टुल्स च्याट जिपिटी ल्याएसँगै माइक्रोसफ्टको शेयर मूल्यमा वृद्धि भई एप्पललाई पछि पार्न सफल भएको हो ।

सन् २०१८ देखि लगातार सर्वाधिक मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले यसबीचमा कोभिडका कारण आइफोनको आपूर्ति श्रृंखलामा असर पर्दा सन् २०२१ मा मात्रै उक्त स्थान गुमाएको थियो ।

प्रतिक्रिया