शनिबार, वैशाख २९, २०८१

साताको सेयर समीक्षा : ३ प्रतिशत बढेको बजारमा २२ सयको प्रतिरोध

नेपालखोज २०८० माघ ५ गते १६:५५

काठमाडौं । गत साता सेयर बजारका लागि २१ सय अंक प्रतिरोध थियो । कारोबार क्रममा बारम्बार २१ सय अंक तोडे पनि बजार अन्ततः २०८८ अंकमा रहेर बन्द भयो ।

यो साता पहिलो दिन आइतबार बजारले २१ सयको अंक तोड्यो । तर, साता कारोबारको अन्तिमतिर २२ सय प्रतिरोधक बन्यो ।

योपटक मात्रै होइन, विगतमा पनि बढ्ने क्रममा पटक–पटक २२ सयआसपास बजारले प्रतिरोध गरेको छ । यही कारण सेयर लगानीकर्ताले २२ सय अंकलाई ठूलो प्रतिरोध (रेसिस्टेन्स) अंक मान्ने गरेका छन् ।

यो साता आइतबार करिब ३२ अंक बढेर २१ सय २० मा पुगेको बजार सोमबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । मंगलबार फेरि करिब ५५ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१ सय ७५ अंक पुग्यो ।

बुधबार कारोबार भइरहँदा बजार परिसूचक नेप्सेले २२ सय अंक तोडे पनि अन्ततः २१ सय ६३ अंकमा ओर्लियो । बिहीबार थप ७ अंक घटेसँगै यो साता २१५५.८ अंकमा बजार बन्द भयो । यो साता चार दिन खुलेको बजार सुरुका दुई दिन उच्च दरले बढ्यो भने अन्तिम दुई दिन न्यून दरमा घट्यो । समग्रमा बजारले बढ्दो लय समाएको देखिन्छ ।

प्रतिक्रिया