शनिबार, वैशाख १५, २०८१

मादल बेचेर घर खर्च

नेपालखोज २०८० माघ ५ गते १८:२७

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि उहाँले यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आएका हुन् ।

चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताउनुभयो । राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

“आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन् । दसैँतिहारको बीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ”, वादीले भन्नुभयो, “व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । मादल बिक्री गरेरै वर्षमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरु आउँछन् ।” उहाँका अनुसार अहिले पसलबाट दमाहा, डमरु र मादल बिक्री भइरहेका छन् ।

एउटा मादल रू दुई हजार पाँच सयदेखि रू २५ हजारसम्म बिक्री हुने गरेको वादीले जानकारी दिनुभयो । मादल बनाउने काठलगायत आवश्यक अन्य सामग्री गाउँमै उपलब्ध हुने भएकाले सामग्री जुटाउन समस्या नरहेको उहाँले बताउनुभयो । मादल बनाउने पेसामा वादीको दम्पतीनै लागेको छ । आफूले मात्रै माग धान्न नसकेपछि एक जनालाई रोजगारसमेत दिएको उहाँले बताउनुभयो ।

कामदारका रूपमा मादल बनाउने पेसामा लाग्नुभएका ५६ वर्षीय गगन वादीले आफू यो पेसामा लागेपछि चाडपर्वलगायत अन्य खर्चमा सहज भएको सुनाउनुभयो । “विगत पाँच वर्षदेखि यहाँ काम गरिरहेको छु । यहाँ वार्षिक काम गरेमा रू एक लाखदेखि डेढ लाखसम्म कमाइ हुन्छ”, उहाँले भन्नुभयो । यही पेसाले जीविकोपार्जनमा सहज भएको उहाँको भनाइ थियो ।

व्यावसायिक रूपमा मादल बनाउने पेसामा लाग्नुभएका मङ्गले, वादी समुदायको जीवनस्तर माथि उकास्न र वादी समुदायको व्यवसायलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले चासो देखाउनुपर्ने र आर्थिकरुपमा सहयोगको गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।

दलित तथा वादी समुदायका लागि क्षमता विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा रू दश लाख बजेट विनियोजन गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दलित तथा वादी समुदायलाई सोही बजेटबाट सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया