शुक्रबार, जेठ ४, २०८१

फाप्लुमै मोतिविन्दुको शल्यक्रिया

नेपालखोज २०८० माघ २० गते १२:२३

सल्लेरी(सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । उनीहरुको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । ‘गाउँघरमा अझै पनि आँखामा मोतिविन्दु पालेर बस्न बाध्य छन्, उनीहरुलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौँ, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प्रतिष्ठानसँगको समन्वयमा शल्यक्रिया शिविर सञ्चालन गरेका थियौँ’, उनले भने ।

केन्द्रले जिल्लाका ३३ स्थानमा आँखा शिविर सञ्चालन गरेको थियो । आँखा केन्द्रले फाप्लुमा दुई पटक तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका विशेषज्ञसहितको उपस्थितिमा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको प्रमुख ताम्राकारले जानकारी दिनुभयो । सोलुखुम्बुमै आँखाको मोतिविन्दुको शल्यक्रिया भएपछि बिरामी खुसी भएका छन् । शल्यक्रिया गर्न काठमाडौं जानुपर्दा हजारौँ रुपैयाँ खर्च हुने तथा झन्झटसमेत हुने भएकाले गाउँदै उपचार भएपछि राहत मिलेको सल्लेरीकी वृद्धा दाटी शेर्पाले बताए ।

पाँच हजारले लिए नेत्र सेवा

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सन् २०२३ मा पाँच हजार दुई सय २१ जनालाई नेत्र सेवा प्रदान गरेको छ । सेवा पाउनेमा दुई हजार आठ सय छ महिला र दुई हजार चार सय १५ पुरुष रहेका आँखा केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

सेवा लिनेमा चार हजार दुई सय ६१ जना नयाँ र पाँच सय ७९ जना पुराना बिरामी रहेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए । उक्त समयमा दुई हजार तीन जनाले चस्मा समेत बनाएका छन् । चार हजार सात सय १४ जनालाई औषधि वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया