आइतबार, वैशाख २३, २०८१

पूर्वाधार निर्माण अलपत्र हुँदा स्थानीयवासीलाई सास्ती

नेपालखोज २०८० माघ २५ गते १२:०९

काभ्रेपलाञ्चोक । पछिल्ला केही वर्षदेखि दुर्गम मानिएका काभ्रेपलाञ्चोकको दक्षिणी (महाभारत पर्वत श्रृङ्खला पारी) क्षेत्रमा पूर्वाधारलगायत विकासमा बजेट विनियोजन गर्न थालियो । बजेट आएपछि प्रक्रियागत ढङ्गबाट विशेषगरी विद्यालय भवन, सडक र पक्की पुलका निर्माण थालिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये अतिदुर्गम मानिएका काभ्रेपलाञ्चोकको दुई गाउँपालिका महाभारत र खानीखोलामा सुरु गरिएका पूर्वाधार विकासका काम हाल अलपत्र अवस्थामा रहेको पाइएको छ ।

काभ्रेपलाञ्चोक र प्रदेश राजधानीको जिल्ला मकवानपुर जोड्ने पुल निर्माण थालेको सात वर्ष भैसक्यो । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ जोड्ने सिक्रेदोभानस्थित बागमती नदीमा निर्माण सुरु गरिएको पुल निर्माण अलपत्र परेपछि ती स्थानबाट आवतजावत गर्ने दुई जिल्लाका नागरिकले निकै सास्ती व्यहोर्दै आउनुपरेको छ ।

दुई वर्षमा निर्माण गर्न सम्झौता गरिए पनि सात वर्षसम्म पुल निर्माणको काम अलपत्र रहेको छ । पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारले बारम्बार ताकेता गरिरहेका छन् । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि एक वर्षदेखि प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षभित्र निर्माण सक्न निर्देशन दिएको छ । जेभीसँग भ्याटबाहेक ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

मन्त्री युवराज दुलालले पछिल्लोपटक पुल निर्माणस्थलको अनुगमन गरेपछि निर्माण कम्पनीलाई चालु आवभित्र सक्न निर्देशन दिएका छ । ‘निर्माण कम्पनीका प्रतिनिधिलाई चालु आवभित्र पुल निर्माण सक्न निर्देशन दिएका छौँ, उनीहरुले प्रतिबद्धता पनि जनाएका छन्’, मन्त्री दुलालले भने । उनका अनुसार प्रदेश सरकारले पुराना ठेक्का भएका पुल, सडकलगायतका आयोजना चालु आवभित्र निर्माण सम्पन्न गर्ने या ठेक्का तोड्ने भन्ने विषयमा आव २०८०/८१ का नीति तथा कार्यक्रममा नै घोषणा गरिएको छ ।

तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/७४ मा बोलपत्र आह्वान गरी बाग्मती नदीमा पुल निर्माणको काम अघि सुरु गराएको थियो । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती व्यहोर्नुपरेको महाभारतका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनले भने, ‘पुल नबन्दा दुई गाउँपालिकाका नागरिकले निकै सास्ती खेप्नुपरेको छ, निर्माण भएपछि प्रदेश राजधानी हुटौँडा पुगेर काम सम्पन्न गरी साँझ घर आइपुग्ने अवस्था रहन्छ ।’

निर्माण सुरु भएदेखि हालसम्म मकवानपुरतर्फ पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’को काम र काभ्रेपलाञ्चोकतर्फ बस्ने पिल्लरको पाइलिङको काम सुरु गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि खड्ग गोपालीले हालसम्म पुल निर्माणको ३० प्रतिशत काम सकिएको दाबी गरेका छन् । उनका अनुसार आउँदो फागुन मसान्तसम्म पिल्लर उठाउने काम सकेर मकवानपुरतर्फको एउटा ल्याब ढलान गरिनेछ ।

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित डाँडापारी (महाभारत पर्वत श्रङ्खला पारी)मा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिक किनमेलका लागि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेललगायत बनेपा, पनौती आउनभन्दा मकवानपुरको हेटौँडा नजिक पर्दछ । यसकारण पनि यहाँका दुई गाउँपालिकाको नागरिक पुल निर्माण छिटो होस् भन्ने चाहन्छन् । ‘दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँको पुल बन्दा हामीलाई सजिलो हुन्छ’, तालढुङ्गाका रामप्रसाद तिमल्सिनाले भने ।

निर्माण व्यवसायी गोपालीले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताए । उनका अनुसार पुल निर्माण हुने स्थानसम्मका लागि साडे पाँच किलोमिटर पहुँच सडक खन्ने क्रममा पुल निर्माण गर्ने दुई वर्षको समय सकिएको थियो । यस्तै यस्तै तत्कालीन जिविस खारेज भएपछि दश महिना अन्योल रहेका कारण पनि पुल निर्माणको काम समयमा नै सुरु गर्न नसकिएको अर्का व्यवसायी विजय थापाको भनाइ छ ।

प्रतिक्रिया