मंगलबार, फागुन १५, २०८०

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

नेपालखोज २०८० माघ २६ गते ९:१९

गडराय, छान्ना(बझाङ) । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।

सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताए । उनले भने, ‘हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो । अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ ।’ उनका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन् । उनले भने ,’सडक नहुँदा कोही आउँदैन थिए । आजभोलि गाउँभन्दा बाहिरको मान्छे नआएको दिन खाली हुँदैन ।’ द्वारकाँडी मष्टाको डाँडाबाट ‘सेल्फी’ खिच्नेहरु पनि आजभोलि झरनाको टुप्पामा पुग्ने गरेको उनले बताए ।

गडरायको चम्ला झरना विभिन्न नामले परिचित छ । गोरखाली झरना, कोरकाटियाँ छणो, उबाखोलाको छणोलगायत विभिन्न नामले चिनिन्छ । तर यसको पुरानो तथा कारणसहितको नाम भने चम्ला नै हो । झरनाको वरिपरि चम्ला (घाँसको प्रजाति) वनस्पतिले घेरिएको ठाउँ भएकाले कोरकाटियाँका मानिसले यसको नाम ‘चम्ला छणो’ राखेका हुन् ।

स्थानीय रामजङ्गबहादुर सिंहका अनुसार कोरकाटियाँका मानिसको पिउने तथा सिँचाइ गर्ने पानी त्यही झरनाको हो । कतिपयले झरनाको पानीको फिँज चामलको चौलानी जस्तै भएको हुँदा पनि यसको नाम चम्ला रहन गएको उनले बताए ।

चम्ला झरनाको पौराणिकता

चम्ला झरनाको महिमा अपरम्पार जस्तै भएको सिंहले बताए । उनका अनुसार मष्टो देवताले बसोबास गर्दा लाचुणे दानवले दुःख दिएपछि कौछ्या देवतालेसँग मिलेर मष्टोले झरनाको ढलेल्याणीमा कौछ्याले बाणले हान्दा राक्षस लाचुणेलाई मारेको पौराणिक घटनाबाट झरनाको कथा सुरु हुन्छ ।

देवता (मष्टो, कौछ्या) र राक्षस लाचुणेको लडाइँ लामो समयसम्म रह्यो । उनले भने, ‘दुवैतिरबाट पानीसमेत नखाई लडाइँ जारी राखे । त्यसपछि दानवलाई बाणले हानेर हराएपछि देवता पानी प्यासले काकाकुल भए । भिरमा पानी पाउने कुरै भएन । त्यसपछि मष्टोले चट्टानै चट्टान भएको भिरमा बाण हाने र पानीको मुहान फुट्यो । त्यही पानीले प्यास मेटे । त्यही पानीमा वरिपरि मूल फुट्दै तलको भिरमा गएर झणो ९झरना० बनेको भन्ने किंवदन्ती रहेको छ ।’

रामजङ्गबहादुर सिंहका अनुसार झरनाको पनि छुट्टै कथा छ । त्यसबेलामा लडाइँपछि धामी(देउता) लाई पानी प्यास लाग्दा भिरको धारो पर्ने ठाउँमा गए । धारोमा पानी पिउँदा हात भित्तामा अड्याएर पानी पिउँदै गर्दा धामीको पगरी (टोपी) तल खसेको थियो । त्यही टोपी पछि झरना भएको कुरा माङलमा उल्लेख भएको उनले बताए । अहिले टाढाबाट देखिँदा सेतो कपडा लगाउने धामीको हात अड्याएको ठाउँमा दुइटा झरना, धामीको खुट्टा भएको ठाउँमा कुण्ड र त्यही कुण्ड बगेर धामीको पगरी गएको ठाउँमा झरना भएको स्थानीयको बुझाइ छ । २०३६ सालमा आएको भूकम्पसँगैको पहिरो र केही वर्ष पहिलेको पहिरोले कुण्ड पुरिएको रामजङ्ग सिंह बताए ।

साइत सुधार्न झरनामाथि पूजा

झरनाको माथिपट्टि स्थानीयले पुस्तौँदेखि पूजाआजा गर्दै आएका छन् । भूमि पूजा गर्दा आफूलाई, आफ्ना सम्पत्तिलाई जङ्गली जनावरदेखि कसैले पनि आक्रमण नगरून्, भिरपाखाबाट नखसून् भनेर रुद्रीपाठ, चण्डीपाठ बर्सेनि गरिँदै आएको छ । सबैको सोचेको पूरा हुने, शुद्ध पवित्र भइरहने, पानीको मुहान बढ्ने विश्वासले पूजाआजा गरिँदै आएका छन् । पूजाआजाका लागि ब्राह्मणले भनेको साइतमा जहिल्यै पूजा गर्ने र त्यसपछि मात्रै लेकाली काममा जाने गरेका छन् । विशेषगरी लेकमा वस्तुभाउ ल्याउनुभन्दा अगाडि पूजा गरेर ल्याउँदा जङ्गली जनावरबाट क्षति नहुने, रोगव्याधी नलाग्ने, भिरपाखामा गएर पनि नोक्सान नहुने विश्वासले पूजा लाग्ने गरेको खप्तडछान्ना–७ का भेषराज जोशीले बताए ।

प्रतिक्रिया