आइतबार, वैशाख २३, २०८१

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

नेपालखोज २०८० माघ २६ गते ११:२२

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ ।

फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गरे । उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पुर्याउन्थ्य । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो ।

तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् ।

उनले विगत ३५ मन चिराइतो बिक्री गथे, तर गत वर्ष सात मन मात्र बिक्री गरे । उनले प्रति मन ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताए । उनले भने, ‘अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् । हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ ।’ उनका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो । तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ ।

फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्य आर्जन गरे । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उनले प्रतिकेजी एक हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे ।

चिराइतो बिक्रीबाट किसान भट्टराईले मनग्य आम्दानी गर्नुयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरे । उनका अनुसार अहिले ताप्लेजुङमा प्तिमन रु ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया