शनिबार, जेठ ५, २०८१

दिक्तेलको खाल्लेमा बस पुगेपछि…

नेपालखोज २०८० फागुन १ गते ८:२०

खोटाङ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे ।

सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत थिए ।

आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए । दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रालिको दुईवटा बस सञ्चालन गरेको थियो ।

खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारीस्वरुप परीक्षण गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् । ‘दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ ।

यो सडक सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने, ‘दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउँरो छ । ‘दिक्तेल–खानीडाँडा–पुरानोगाउँ हुँदै रेग्मीटार ३१ दशमलव ५० किलोमिटरमात्र छ । यो सडकलाई तत्कालका लागि राजापानीस्थित पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित यातायात सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नतिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम गरिएको उक्त सडकमा उपभोक्ता समितिले छ लाख ७९ हजार सात सय २१ को श्रमदान गरेका छन् ।

प्रतिक्रिया