आइतबार, जेठ ६, २०८१

कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’

नेपालखोज २०८० फागुन १ गते १०:५०

जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त रु सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् १ हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् ।

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले ।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उनले । ‘आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र १ त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ १ त्यसैको उदाहरण हुँ म’, उनले भने । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि १ प्रयास गरेपछि कसो नहोला रु लामो सुस्केरा हाल्दै राजेशले भने, ‘खै १ नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र…?’

पछाडिबाट आवाज आयो, ‘दाई चिया ।’ कुरा छाडेर काममा लाग्नुभयो उनी । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, ‘तपाईँहरूको नि ?’ जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए ।

‘मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु’, पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, ‘पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।’

यसरी तुहियो सपना

जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढे। भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गरेको छ ।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसकेका थिए । तर जनकपुरस्थित घरमा रहेकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए ।

“स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब २५–३० लाख खर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो’, उनले दुःख पोखे ।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उनले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो ।

‘बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन’, उनले भने ।

आठ हजार तिर्नुपर्ने भएपछि…

आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुवा बित्नुभयो । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । ‘सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो’, उनले मलिन मुद्रामा भने ।

यो व्यापार पनि एउटा पसलमा रु आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई आठ हजार तीन सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ ।

प्रतिक्रिया