बुधबार, वैशाख २६, २०८१

विद्यालयको अक्षयकोषमा २३ लाख सङ्कलन

नेपालखोज २०८० फागुन १ गते १४:१२

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ ।

विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज २७ गतेदेखि ३६ लाख रकम सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिए ।

उनका अनुसार १० हजारभन्दा माथि सहयोग गर्ने एक सय ४७ र १० हजारभन्दा कम सहयोग गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत रकम शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत साँवामा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।

अक्षयकोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले एक लाख ५० हजार सहयोग गरेका थिए । अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताए । सो विद्यालय गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई १४ लाख ५० हजारसहित पुरस्कृत भएको थियो ।

प्रतिक्रिया